‘प्रधानमन्त्रीकै चक्लेट दिए पनि देशभक्ति आवाज रोकिदैन’



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता भीमबहादुर रावलले सीमा विवाद अन्त्यका लागि भारतसँग सरकारले सार्थक र प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएका छन्।

स्वतन्त्र विद्यार्थी यूनियन (आरआर) क्याम्पसद्वारा आयोजित ‘सीमा अतिक्रमण: विगत, वर्तमान र राष्ट्रिय सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले यस्तो सुझाव दिएका हुन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, अन्य राजनीतिक दल र समग्र नेपाली जनता राष्ट्रियताको पक्षमा उभिएको भन्दै नेता रावलले केपी ओली नेतृत्वको सरकारले भारतसँग वार्तागर्दा बलियोसँग उभिनुपर्ने बताए।

उनले भने, ‘सरकारले भारतसँग आँखा जुधाएर वार्तागर्न सक्ने र अध्ययनशिल तर्क प्रस्तुत गर्ने मान्छेलाई वार्तामा बसाल्नुपर्छ। परराष्ट्रका कर्मचारी जस्तो डरपोकलाई वार्तामा राखेर काम छैन्। सीमा विवादको बारेमा परराष्ट्रले निकालेको विज्ञप्ति हामीले देख्यौं। यस्ता डरपोकहरूले भारतसँग आँखा जुधाएर वार्ता गर्छन भन्ने मलाई लाग्दैन।’

उनले भने, ‘म देश र जनतालाई सर्वोपरी ठान्छु। हाम्रो पार्टीमा मलाई प्रतिपक्षि दलको नेता भन्छन्। म प्रतिपक्षि दलको नेता होईन, बरू प्रतिरक्षि नेता हुँ। सरकारका गलत क्रियाकलापका बारेमा बोल्दा आफ्नै पार्टीको सरकारका बारेमा बोल्ने ? भनेरसम्म भन्छन्। को नेता बन्यो ? को मन्त्री र प्रधानमन्त्री बन्यो ? यो गौण कुरा हो। त्यो कुरा महान हुन्छ, जसले देश र जनतालाई माथि उठाउन सक्छ।’

मेरो राजनीतिक यात्रा यसै क्याम्पस (आरआर) बाट भएको हो। यस भूमिमा आएर धेरैपछि राष्ट्रियताको बारेमा बोल्दैछु, उनले भने, ‘मलाई जुन कुरा सत्य लाग्छ, त्यहि कुरा यहाँ प्रस्तुत गर्दैछु। म संसदमा या बाहिर,  देश र जनताको हित विपरित कोही जादैछ भन्ने कुरा मैले थाह पाए भने म त्यसको पहिलो विरोधि बन्छु।

‘मन्त्रीपरिषद फेरबदल हुँदैछ’ भन्ने कुरालाई उल्लेख गर्दै नेता रावलले भने,‘अचेल म सुन्दैछु, मन्त्रीपरिषद परिर्वतन हुँदैछ। मलाई मन्त्री बनाइदैछ! अरूले यस्तै भन्छन्। तर, मन्त्री त के प्रधानमन्त्रीको चक्लेट दिए पनि देश र जनताको हितविपरित कसैले कदम चाल्न खोज्छ भने म बोल्छु। अन्याय अत्याचार र दमनको विरोध गर्छु। यहाँ मुख थुन्नको लागि पनि पद दिने चलन छ। यो मेरो जीवनमा लागू हुँदैन। देशभक्ति आवाज कसैले पनि रोक्न र थुन्न सक्दैन। ‘

उनले अगाडि भने, ‘आजको दुनियाँमा मन्त्री पद अस्वीकार गर्ने मान्छे कम हुन्छन्, त्यसमा म पनि पर्छु। धेरै राष्ट्रियताको पक्षमा बोले कसैको साथ पाएको थिएन। यतिबेला कालि दुःख्दा मेची रोएको पाएको छु। चौतर्फि राष्ट्रियताको पक्षमा वकालत भइरहेको छ। अब हामीले को मन्त्री र प्रधानमन्त्री बन्छ ? भन्दा पनि देशलाई कसरी सुरक्षित राख्ने ? भनेर सोच्नुपर्छ।’

नेता रावलले पदको कुनै सरोकार नभएको बताउँदै भने, ‘आजको दिनमा मलाई पदको कुनै वास्ता छैन। वर्तमान दुई तिहाईको सरकारले भारतसँग सीमा विवादको अन्तीम परिणाम निकाल्न सक्छ कि सक्दैन ? २००६ सालदेखि राष्ट्रियताको पक्षमा बोल्दै आएको हाम्रो दुई तिहाइको सरकारले विगतका खुडा टेक्ने सरकारको भन्दा फरक प्रमाणित गर्न सक्छ कि सक्दैन? नेपाली युवाहरूलाई भाडाका सिपाही बन्न जानबाट रोक्छ कि रोक्दैन ? कालापानिबाट भारतीय सेना हटाउन सक्छ कि सक्दैन ? मलाई यति सरोकार छ।’